मनिषालाई रुङ्दा रुङ्दै ‘डाक्टर’ बने प्रकाश


१७ साउन, काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई क्यान्सरको उपचार गराउने क्रममा उहाँका बुबा, आमा र भाइसमेत अमेरिकाको न्युयोर्कमा लामो समय बस्नुभयो । छोरीको उपचारका लागि अमेरिकाको आठ महिने बसाइका क्रममा उहाँका पिता एवं वीपीपुत्र प्रकाश कोइरालाले भने आफ्नो सम्पूर्ण ध्यान स्वास्थ्यसम्बन्धी अध्ययनमा लगाउनुभयो ।

‘म आफूलाई पढे लेखेको शिक्षित मान्छे ठान्थें । तर, सुन्ना रहेंछु’ अमेरिकाबाट मनिषालाई मुम्बई ल्याइपुर्‍याएर काठमाडौं र्फकनुभएका प्रकाशले अनलाइनखबरसँग भन्नुभयो, ‘मलाई त अमेरिका गएर पो थाहा भयो, हेल्थको विषयमा म शून्य रहेंछु । मैले एसएससी नेपालबाटै पास गरेको हो । तर, मलाई केही पनि थाहै रहेनछ ।’
छोरीको उपचारबाट फर्केपछि वीपीपुत्र प्रकाश पनि एक किसिमले डाक्टरजस्तै बन्नुभएको छ । त्यहाँ रहँदा आफूले स्वास्थ्यसम्बन्धी पुस्तकहरु पढेको र अब नेपालमा आफू केही (मन्त्री) भएको खण्डमा माध्यमिक तहसम्म स्वास्थ्य विषयको पाठ्यक्रम अनिवार्य गराउने उहाँले बताउनुभयो ।
मनिषा पिताको स्वास्थ्यसम्बन्धी आठ महिने अनुभव यस्तो छ :
- मनिषा अहिले क्यान्सरबाट पूरै मुक्त भइन् । तर, डाक्टरहरुले तीन/तीन महिनामा दुई वर्षसम्म ‘फलोअप’ गराइरहनुपर्छ भनेका छन् । तर, सुखद समाचार के छ भने यो पहिलो तीन महिनामा उनको रिपोर्टमा क्यान्सर सेल केही पनि छैन । डाक्टरहरुले यसलाई ‘सी-६’ भनेका छन् । यो भनेको क्यान्सर नभएसरह हो । मनिषा मुम्बईमा छिन् । उनी दशैंमा नेपाल आउँछिन् ।
- मनिषालाई क्यान्सर भएपछि म न्युयोर्कमा आठ महिना बसें । त्यहाँ मैले प्रचुर मात्रामा पढ्ने मौका पाएँ । त्यहाँ मैले हेल्थकै सम्बन्धमा पढें । त्यसबेला मलाई के लाग्यो भने भोलि म नेपालमा केही भएँ भने सबैभन्दा पहिले एसएलसी लेबलसम्म हेल्थ सम्बन्धी कोर्सलाई अनिवार्य बनाइदिन्छु । मलाई त अमेरिका गएर पो थाहा भयो, हेल्थको विषयमा त म शून्य रहेंछु । मैले पनि एसएससी नेपालबाटै पास गरेको हो । तर, मलाई त केही पनि थाहै रहेन छ । म आफूलाई पढेलेखेको शिक्षित मान्छे ठान्थें । तर, सुन्ना रहेंछु । त्यसैले नेपालको माध्यमिक तहको पाठ्यक्रममा हेल्थलाई अनिवार्य पार्नैपर्ने हरेछ । मैले यो कुरो धेरै मानिसहरुलाई सेयर गरें । यो मेरो आठ महिने अनुभव हो ।
-क्यान्सरबाट मुक्ति पाउनलाई म यहाँका सबै डाक्टरलाई भन्छु, तपाईहरु अमेरिकाका असाध्यै राम्रा डाक्टर एन्ड्रयु वीलले १५ वर्ष अगाडि लेखेको पुस्तक पढ्नोस् । उनका किताब पढ्दाखेरि त मलाई लाग्यो उनी क्रान्तिकारी डाक्टर रहेछन् । उनी भोलिका डाक्टर हुन् । उनी ३० वर्षपछिका डाक्टर हुन् । हामीले जुन मेडिसिन लिइराखेका छौं, यसमा उनले प्रश्नचिन्ह लगाएका छन् । जबकि उनी यही मेडिसिनबाट हुर्केका प्रशिद्ध डाक्टर हुन् । अबको मेडिकल दुनियाँ अबको १० वर्षपछि उनैको पछि लाग्छ, म यो ठोकुवा गरेर भन्न सक्छु ।
-मनिषाको फुड ह्याबिटका कारण अब म दाबीका साथ भन्छु, उनलाई अब क्यान्सर हुँदैन । मैले के बुझें भने मान्छेले दिनमा १० किलोमिटर हिँड्नुपर्छ । मान्छे दुई पांग्रे हो । जति तपाईले खुट्टाको प्रयोग गर्न सक्नुभयो, उति तपाईको स्वास्थ्य राम्रो हुन्छ । तपाईले सादा खाना खानुभयो भने तपाईको आयु ७० वर्षबाट ८० वर्ष पुग्छ ।
-नेपालमा जुन प्रोफेसनल डाक्टरहरु छन्, उनीहरु राम्रा छन् । डा. उपेन्द्र देवकोटाको अस्पताल अन्तरराष्ट्रिय स्तरको छ । डा. भगवान कोइराला नै छन् । तर, यस्ता डाक्टरहरुलाई प्रोत्साहन गर्नुपर्छ । मैले मनिषाको क्यान्सर रोग पत्ता लगाउने डा. मधु घिमिरेलाई भनेको थिएँ, तिमी त नेशनल डाक्टर हौ भाइ । नेशनल डाक्टरको काम गर्न सक्छु भन्ने आँट तिमीमा किन आउँदैन भन्दा उनले म सक्छु प्रकाश दाइ भनेका छन् । म उनीप्रति आभारी छु । यस्ता डाक्टरहरुलाई राज्यले प्रोत्साहन दिनुपर्छ । तर, दिन सकेको छैन । यहाँ डाक्टरहरु धेरै प्रोफेसनल एवं सक्षम डाक्टरहरु छन् । रोग पत्ता लगाउन उनीहरु अचूक छन् । तर, यहाँ त यस्तो माहौल बनाइएको छ कि तँ कांग्रेसी डाक्टर होस्, तँ कम्युनिष्ट डाक्टर होस् । यसरी त हुँदैन नि । पञ्चायतकालसम्म नेपालको एयरपोर्टमा राम्रो रेष्टुरेन्ट थियो, तर बहुदल आएपछि त्यहाँ कांग्रेसका कार्यकर्ता छिरेर पैसा नतिरी ब्ल्याक लेबल र ब्लु लेबल खाइदिन थालेपछि त्यो रेष्टुरेन्ट भाग्यो ।
-म अमेरिकामा बस्दा म सधैं नेपाली टोपी लगाउँथे । म छोरीको उपचारको निम्ति गएको सामान्य मान्छे मात्रै थिएँ त्यहाँ । मनिषा सेलिबे्रटी हो, म सेलिब्रेटीको बाबु हुँ । म नेपाली भएकाले मैले कुनै गलत काम गरें भने मैले नेपालको प्रतिनिधित्व गरिरहेको हुन्छु अनुभूति मैले हर हमेसा गरें । त्यसैले डाक्टरहरुसँग कुरा गर्दा पनि यो कुरामा ध्यान दिएँ । नेपालीहरुलाई अनपढ, बेवकुफ नठानुन् भनेर मैले निकै होस गरेर बोलें । यसमा पनि म अमेरिकनहरुका अगाडि उत्तीर्ण भएँजस्तो लाग्यो । अमेरिकनहरुका अगाडि नेपाललाई राम्रो रुपमा परिचित गराएँजस्तो लाग्यो ।
-मैले त्यहाँ अर्को के थाहा पाएँ भने मनिषाले नेपाली भएको नाताले अन्तरराष्ट्रिय मञ्चमा जानलाई र परिचित हुनलाई जति सजिलो छ, यसका लागि वीपी कोइरालाले धेरै संघर्ष गर्नुपरेको थियो । अन्तरराष्ट्रिय मञ्चमा प्रवेश गर्न राजनीतिज्ञलाई भन्दा सेलिब्रेटीलाई धेरै सजिलो हुँदोरहेछ । मनिषालाई २२ भन्दा बढी देशबाट विभिन्न मानिसहरुले स्वाथ्य लाभको कामना गर्नुभयो ।

ग्यास सिलिण्डर पड्किएर आगलागी


१३ साउन, मोरङ । विराटनगरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा दुई लाख मूल्य बराबरको क्षति भएको छ ।
विराटनगर-११ स्थित अमरटोलका विशेश्वर चौधरीको घरमा भाडामा बसेका बिद्यार्थीहरुले खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किदा आगलागी भएको मोरङ प्रहरीले जनाएको छ । शनिबार साँझ सात बजे लागेको आगो प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आधा घन्टा पछि नियन्त्रणमा लिईएको थियो । आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यन्न लगायतका सामान जलेर नष्ट भएको हो ।

सांसदले देखाएपछि सनसनी


आफ्नो टाटु देखाउने बहानामा गुप्तांग समेत देखिएको तस्वीर सामाजिक संजालमा अपलोड गरेपछि स्विडेनका एक सांसदलाई लाजमर्नु त भयो नै विपक्षी दल तथा देशका विदेश मन्त्रीले समेत उनको यो कमजोरीलाई राजनीतिक हमलाको अस्त्र बनाए ।

स्विडेनको एक वामपन्थी दलका नेता समेत रहेका लार्स ओहलीले इंगलिस क्लब लिभरपुलको लोगोयुक्त टाटु आफ्नो सरीरमा खोपेका रहेछन् । सोही टाटु आफ्नो फलोअर्सलाई देखाउन भन्दै उनले आफ्नो कम्मर मुनिको भागको तस्वीर खिचेर सामाजिक संजाल इन्स्ट्राग्राममा अपलोड गरेका थिए । तर विचरा उनलाई आफुले पाइन्ट तर सारेर तस्वीर खिच्दा पृष्ठभूमिमा आफ्नो गुप्तांगको केही भाग पनि देखिएको पत्तो भएन ।
सो कुराको खुलासा भएपछि उनले तत्कालै इन्टरनेटबाट सो तस्वीर हटाए । तर उनको तस्वीर देखिसकेका मानिसहरुले भने उनलाई खुब खिसिट्युरी गरे । गुप्तांग देखाएको तस्वीर इन्टरनेटमा हाल्ने सांसदको खोइरो खन्नेमा स्विडेनका विदेशमन्त्री तथा इतर पार्टीका नेताहरु समेत छन् । विदेश मन्त्री कार्ल बिल्डटले भनेका छन्, ँबधाइ छ महोदय, आखिर यत्रा वर्षपछि बल्ल तपाइँले खासमा एक महत्वपूर्ण सार्वजनिक उपलब्धी हासिल गर्नुभयो ।’
विचरा पछि चेत पाएका ती सांसदले दुख मनाउ गर्दै अब इन्टरनेट साइटमा तस्वीर अपलोड गर्दा निकै होस पूराउने बताएका छन् ।

गाविसका नामसित जोडिएका रोचक तथ्य ९ जिल्लाका देउरालीको ९ थरी अर्थ


१३ साउन, काठमाडौं । ँसात वर्षमा १७ थरी झञ्झट त भयो, तर अचम्म अचम्मका कहानी फेला पारें’ गाविसका नामसँग जोडिएका कहानी लेखिएको डायरीको ठेली पल्टाउँदै ८० वषिर्य हरिध्वज तिमिल्सिना खत्रीले भन्नुभयो -’बल्लतल्ल खोजी भ्याएँ, अब पुस्तक आउँछ ।’ शनिबार दिउँसो खत्री निवास झम्सीखेल पुग्दा उहाँ मोटो चश्मा लगाएर मेहनतका साथ लेखिएको तथ्य रुजु गर्दै हुनुहुन्थ्यो ।

गाविसको नाम कसरी जुर्यो होला भन्ने खुल्दुली मेटाउन सात वर्षअघि शुरु भएको उहाँको अभियानबाट एउटा महत्वपूर्ण पुस्तक नै तयार हुने भएको छ । झापा स्थायी घर भएका खत्रीले देशभरका ३ हजार ९ सय १५ गाविसका नामसँग जोडिएका थुप्रै रोचक र ऐतिहासिक तथ्य फेला पार्नुभएको छ ।
गाविसको नाम खोतल्दा त्यससँगै रमाइला, रोचक ऐतिहासिक तथ्य पनि जेलिएर आएकाले आफ्नो खोज महत्वपूर्ण बनेको उहाँले बताउनुभयो ।
नाम जुराउने काइदा
एकजना हलीले हलो जोतिरहेको बेला गोरु मर्यो । ऊबेला गाई, गोरु मर्दा सम्बन्धित धनी या हलीले बाबुआमा मरेको बेलाजस्तै गरी क्रिया गर्नुपर्ने चलन थियो । ती हलीले पनि कपाल मुन्डन गरेर मरेको गोरुको क्रिया गरे । बारी जोतेको मेलो, मरेको हलगोरु र कपाल मुन्डन गरेको घटनालाई मेलो, हलो र मुडी मिलाएर मेहलमुडी शब्द भन्यो । कालिकोट जिल्लाको मेहलमुडी गाविसको नामसित जोडिएको रोचक तथ्य हो ।

यस्तै अर्को रोचक कहानीसँग जोडिएको गाविस हो, मकवानपुरको मार्खु । थारु समुदायमा घर आएको पाहुनालाई तमाखु दिएर स्वागत गर्ने चलनबाट यो गाविसको नाम जुरेको खत्रीले पत्ता लगाउनुभएको छ । कोही मान्छे टुप्लुक्क घर आइपुग्यो भने थारु समुदायका मान्छेले ँमाखुर खाइर्ंटु काहु संगारी’ अर्थात ँतमाखु खाने, कसो साथी’ भनेर आगन्तुकलाई स्वागत गर्छन् । माखुरबाट मार्खु गाविसको नाम जुरेको हो ।
अछाममा एउटा गाविस छ, बयला । बयल अर्थात गोरुलाई सुमार्ने ठाउँ भएको हुनाले बयला शब्द जुरेको प त्ता लागेको छ । यस्तै नाङ्लो बुनेर जीविकोपार्जन गर्ने मान्छे बस्ने ठाउँ भएर धादिङको नलाङ भन्ने गाविस बनेको हो ।
सिन्धुलीको डाँडेगुराँस गाविसको नाम कसरी जुर्यो होला रु डाँडाभरी गुराँस फुल्ने भएकाले डाँडेगुराँस भयो होला भन्ने तपाईंको अनुमान छ भने त्यो गलत हुन्छ । ँविवाहमा दुलही बोक्ने डोलीको काठलाई डाँडे भनिन्छ । गुराँसको रुखबाट बनेको डाँडे बलियो मानिन्छ । त्यो ठाउँमा डाँडे बनाउने गुराँस प्रशस्त पाइने भएकाले डाँडेगुराँस नाम भएको रहेछ’ खत्रीले अनलाइनखबरसित भन्नुभयो ।

लिम्बु भाषामा म्याङ भनेको बिरालो र लुङ भनेको ढुंगो हुन्छ । बिरालोको आकारको ढुंगो भएको ठाउँ भएको हुनाले तेह्रथुमको म्याङलुङ नाम जुरेको हो । सल्यानको रीम गाविससँग त झन् अचम्मको किंवदन्ती जोडिएको छ । रीम भनेको जमीन र पानी दुवै ठाउँमा बस्न सक्ने एकप्रकारको माछा हो । सुनसान भएको बेला यो माछा पानीबाट निस्केर आफूलाई पायक पर्ने स्थानमा चर्न जान्छ । यसरी जाँदा उसले बाटोमा एकप्रकारको चिप्लो पदार्थ छाड्ने गर्छ । कुनै खतरा हुने बित्तिकै उ आफू हिँडेको बाटोको त्यही चिप्लोमा चिप्लिएर उतिखेरै पानीमा फर्केर लुक्न सक्छ । यस्तो प्रकारको माछा पाइने ठाउँ भएर रीम गाविस बनेको खत्रीले बताउनुभयो ।
उही नाम, फरक तथ्य
झापाका खत्रीले ७ वर्षको सोधीखोजी र अध्ययन अनुसन्धानबाट एउटै नाम भएको गाविस धेरै जिल्लामा भएको फेला पार्नुभएको छ । तर अचम्म एउटै नाम भएपनि ती गाविससँग जोडिएका तथ्यमा चाहिँ आकाश पातालको फरक छ । देउराली भन्ने गाविस कास्की, गोरखा, नवलपरासी, नुवाकोट, पर्वत, पाल्पा, भोजपुर, रामेछाप र तनहुँमा छ ।
पाल्पाको देउराली गाविसको नाम कसरी बन्यो त रु खत्रीको खोज यस्तो निस्क्यो-’पहाडी भेगको कुनै उपयुक्त र निर्दिष्ट बाटाले अर्को रुप लिने सम्भावना रहेको ठाउँमा म पनि यहाँ आएको थिएँ भन्दै सम्झनाको रुपमा एउटा ढुंगो चढाउने ठाउँ भएर गाउँ देउराली गाविस ।’

भोजपुरको देउराली गाविससँग जोडिएको तथ्य चाहिँ अर्कै छ । ँपहाडको उकालो बाटो सकिएर बिसाउने, थकाई मेटाउने मनोभाव पैदा गर्ने ठाउँमा ढुंगाको खात लागेको ठाउँ भएको गाउँ देउराली गाविस अर्थात जहाँ ढुंगाढुंगामा देउताको बास छ, जहाँ थुम्की थुम्कीमा स्वर्गको आभाष छ को गाउँ देउराली गाविस’ लेखक खत्रीले पत्ता लगाएको तथ्य हो, यो । अरु जिल्लाका देउराली गाविससँग जोडिएको तथ्य पनि फरकफरक रहेको खत्रीले बताउनुभयो ।
यस्तै त्रिवेणी भन्ने गाविस उदयपुर, पर्वत र सल्यानमा पनि छन् । एकभन्दा बढी जिल्लामा दोहोरिने अरु केही गाविससँग पनि फरकफरक तथ्य जोडिएको खत्रीले बताउनुभयो ।
पुस्तक छिट्टै
देशभरका सबै गाविससँग जोडिएको ऐतिहासिक, धार्मिक र साँस्कृतिक तथ्य समेटेर खत्रीले छिटै पुस्तक निकाल्दै हुनुहुन्छ । पुस्तक झण्डै सातसय पृष्ठको हुने अनुमान गरिएको छ । गाविसको नाममा कुनै न कुनै ऐतिहासिक तथ्य लुकेकोले यसलाई उजागर गर्न यो अभियानमा जुटेको उहाँले बताउनुभयो ।

गाविसको नामको अर्थ खोज्न उहाँले नेता, सभासद, गाउँका बृद्धबृद्धा, समाजसेवी, बिभिन्न जातजाति र धार्मिक व्यक्तिहरुको पनि सहयोग लिनुभएको छ । ँसबैको सहयोगले एउटा महत्वपूर्ण दस्तावेज आउँदैछ’ खुशी हुँदै खत्रीले भन्नुभयो-’यो सबैका लागि कामलाग्दो इतिहास बन्नेछ भन्ने मलाई लागेको छ ।’ पुस्तौं पछि पनि उत्तिकै काम लाग्ने पुस्तक भएकाले यसलाई सरकारी तथा गैरसरकारी निकायले पनि सहयोग गर्ने उहाँको विश्वास छ ।