माओवादीका कार्यकर्ताद्वारा स्कुल बस तोडफोड

भदौ २६ - एकीकृत माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले धरानस्थित दिल्ली पब्लिक स्कुलको विद्यार्थी बोक्ने बस मंगलबार बिहान तोडफोड गरेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित सो स्कुलको बस बिहान विद्यार्थी लिन गएको समयमा अखिल क्रान्तिकारीले तोडफोड गरेको हो।

धरान १९ स्थित जिमी चोकमा विद्यार्थी पर्खिरहेको अवस्थामा मोटरसाइकलमा आएका आधा दर्जन बढी विद्यार्थीहरुले एक्कासी आक्रमण गरेर को १ ख ४५० नम्बर बसको सम्पूर्ण सिसा फुटाइदिएका छन्। आक्रमण भएको समयमा बसमा चालक सुरेन्द्रकुमार श्रेष्ठ र सहचालक दोर्जे तामाङ मात्रै थिए। विद्यार्थीलाई पर्खिरहेको समयमा विद्यार्थीहरुले हामी अखिल क्रान्तिकारी हौं, गाडीबाट ओर्लनुस भन्दै ढुंगाले सम्पुर्ण सिसा फुटाएको चालक श्रेष्ठले जानकारी दिए। उनका अनुसार घटना बिहान करिब सवा ६ बजेतिरको हो।

घटनालगत्तै बस तोडफोडको आशंकामा प्रहरीले नेकपा-माओवादी सर्मथित अखिल क्रान्तिकारीका तीन जिल्ला नेता पक्राउ गरेपनि उनीहरुको संलग्नता नभएको पुष्टि भएपछि छाडिदिएको छ। घटनापछि एमाओवादी सर्मर्थित आखिल क्रान्तिकारीको जिल्ला समितिले घटनाको जिम्मेवारी लिएको र पक्राउ परेकाहरुको संगठन संलग्न नभएको खुलेपछि छाडिएको डिएसपी राजेन्द्र बिष्टले जानकारी दिए। एमाओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सिपि बजगाईले संगठनको केन्द्रीय नीतिअनुरुप नेपालमा सञ्चालित स्कुलको नाम विदेशको राजधानीको नाममा रहेकोले कारबाही गरिएको बताए।

No comments:

Post a Comment