अबुधाबीमा नेपाली र पाकिस्तानीबीच कुटपिट

काठमाडौं, भाद्र २६ - संयुक्त अरब इमिरेट (यूएई) को राजधानी अबुधाबीस्थित एक निर्माण कम्पनीमा कार्यरत नेपाली र पाकिस्तानीबीच खाना खाने विषयमा भएको कुटपिटमा नेपाली र पाकिस्तानी गरी करिब २० घाइते भएका छन् ।

कुटपिटको घटनाले हिंसात्मक रूप लिन थालेपछि अबुधाबीको हमिमस्थित दोर्सल कम्पनीले आफ्नो क्याम्पबाट २ सय ३० भन्दा बढी नेपालीलाई राजधानीबाट २ सय किमिभन्दा टाढा ४ वटा क्याम्पमा स्थानान्तरण गरेको छ । एउटै कम्पनीमा कार्यरत नेपाली र पाकिस्तानीबीच खाना खाने बेला लाइन (क्यु) बस्ने विषयलाई लिएर झगडा सुरु भएको हो । कम्पनीमा कार्यरत नेपालीका अनुसार बिहीबार दिउँसो क्यान्टिनमा क्यु बसेको बेला एक पाकिस्तानीबीचमा घुस्दा नेपालीले आपत्ति जनाएपछि ती पाकिस्तानीले हातमा समातेको रित्तो थालले हान्दा घटनाले उग्र रूप लिएको थियो ।

उक्त घटनाको भोलिपल्ट नेपाली मिलेर पाकिस्तानीलाई कुटेका र त्यसपछि पाकिस्तानी मिलेर नेपालीलाई कुटपिट गरेका थिए । कम्पनीले घटनामा १४ देखि १६ पाकिस्तानी र करिब ५ नेपाली घाइते भएको बताएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर विस्तृत विवरण प्राप्त भएको छैन ।

कमपनीको स्काफोल्डिङमा कार्यरत ओख्रे-८, तेह्रथुमका खगेन्द्र लिम्बूका अनुसार पाकिस्तानी हूलले आक्रमण गर्न थालेपछि कम्पनीले आफूहरूलाई लुकाउन अर्कै क्याम्पमा पुर्‍याएको टेलिफोनबाट कान्तिपुरलाई बताए । 'कमपनीबाट ४ घन्टा टाढा आएर बसेका छौं,' लिम्बूले भने, 'तीनदिन (शनिबारदेखि) कम्पनी बन्द छ, अब के हुने हो थाहा छैन ।'

No comments:

Post a Comment