तालिवानी विद्रोहीहरुले विदेशी गठबन्धन सेनाका गोप्य सूचना चोर्नका लागि फेसबुकको सहारा लिने गरेको तथ्य खुलासा भएको छ । फेसबुकमा सुन्दरी महिलाको तस्वीर राखेर अकाउण्ट खोल्दै विदेशी सैनिकसँग फ्रेण्ड बन्ने र त्यसपछि सेनाको कारवाहीका विषयमा सूचना लिने गरेका देखिएको छ ।
अस्ट्रेलियाको प्रतिरक्षा मन्त्रालयले गरेको एक अनुसन्धानले आतंककारी गतिविधिमा फेसबुक जस्ता सामाजिक संजालको प्रयोग बढिरहेको देखाएको हो । अनुसन्धानका क्रममा तालिवानी लडाकुहरुले सुन्दरी महिलाको नाममा नक्कली अकाउण्ट खोल्ने र तालिवान विरुद्ध अफगानिस्तान लगायतका देशमा लडिरहेका विदेशी सेनालाई साथी बनाएर जासुसी गर्ने गरेका अनुसन्धानको निष्कर्ष छ । अस्ट्रेलियाले तालिवानीहरुको यस्तो योजनाका विषयमा आफ्ना सेनालाई सतर्क रहन समेत निर्देशन दिएको छ ।
साथै अस्ट्रेलिया सरकारले विभिन्न वेबसाइटमा हुने जियो ट्यागिङ प्रविधि अर्थात् फोटो तथा अन्य पोष्ट अपलोड गर्ने व्यक्तिको अवस्थिति पत्ता लाग्ने प्रविधिका बारेमा पनि सचेत हुन आफ्ना सेनालाई निर्देशन दिएको बताइएको छ ।
तालिवानहरु विदेशी सेनाको रणनीति, आक्रमण योजना लगायतका कुरा थाहा पाउन तथा प्रतिरक्षा र आक्रमण समेतको योजना बनाउन फेसबुकका नक्कली आइडीको सहारा लिइरहेको कुरा धेरै विदेशी सेनालाई थाहा नभएको बताइएको छ । यस बारेमा गठबन्धन सेनालाई तालिम समेत दिने गरिएको छैन । आतंकवाद विरुद्ध लडाइँमा खटिएका सैनिकका परिवार समेत यस्तो कुरामा सचेत हुनुपर्ने बताइएको छ । कतिपय अवस्थामा तालिवान हरुले सैनिकका परिवारका सदस्य मार्फत पनि सूचनाको चोरी गर्ने गरेका पाइएको अस्ट्रेलियाली सरकारको ठम्याइ छ ।
No comments:
Post a Comment