महिला तस्करी गर्न खोज्ने २ जना दलाल पक्राउ

२३ भदौ, बीरगञ्ज । पर्सा जिल्लाको ठोरी नाकाबाट भारतका विभिन्न वेश्यालयमा बेच्न लैजान लागिएको आशङ्कामा शुक्रबार साँझ तीनजना किशोरीसहित दुईजना दलाललाई स्थानीय बासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

वैदेशिक रोजगारीका नाममा दलालले पोखराबाट चितवनको माडी, ठोरी हुँदै भारतको दिल्लीतर्फ लैजान लागेको अवस्थामा शङ्कास्पद गतिविधि देखिएपछि स्थानीय बासिन्दाले उनीहरुलाई प्रहरीसमक्ष बुझाएका हुन्।

 



पोखरा उपमहानगरपालिका-१ का हीराबहादुर सार्की र चितवनका मङ्गलबहादुर परियारले कास्की जिल्ला लेखनाथ नगरपालिका-१३ निवासी २४ वर्षीया शर्मिला सुनुवार, २१ वर्षीया विष्णु सुनुवार र १८ वर्षीया मुना विकलाई दिल्ली हुँदै रोजगारीका लागि कुवेत पठाउन लागेको बताएपछि स्थानीय बासिन्दा तथा महिला परालिगल कमिटी ठोरीले निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ठोरीको जिम्मा लगाएका हुन्।

प्रहरी नियन्त्रणमा रहेका युवतीलाई माइती नेपालमार्फत अभिभावकको जिम्मा लगाइने तयारी भइरहेको तथा दलाललाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालयले जनाएको छ। रासस

No comments:

Post a Comment