काठमाडौं, भाद्र २६ - दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ओ ब्लेक दुईदिने भ्रमणमा सोमबार काठमाडौं उत्रनासाथ राजनीतिक भेटवार्तामा व्यस्त बनेका छन् ।
ब्लेकले एमाले अध्यक्ष झलनाथ खनाललाई बल्खु पार्टी कार्यालयमा भेट गर्दै नेपालमा जारी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अमेरिकी सहयोग निरन्तर रहने बताए । नेता खनालले पिसकोर स्वयंसेवीको सुरुआत गर्ने निर्णय र माओवादीलाई लगाइएको आतंककारी बिल्ला हटाइएकामा अमेरिकी सरकारको सराहना गरे । उनले संक्रमणकालीन राजनीतिको टुंगो लगाउन राजनीतिक तहमा सकारात्मक वार्ताहरू जारी रहेको समेत ब्लेकलाई जानकारी गराएका थिए ।
ब्लेकले नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग पार्टी कार्यालय सानेपामा भेट गरेका थिए । भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र घटनाक्रमबारे जिज्ञासा राखेका थिए । राजनीतिक अवस्था तथा राजनीतिक दलहरूबीच जारी वार्ता र मुलुकको राजनीतिक निकासका लागि कांग्रेसले निर्वाह गरिरहेको भूमिकाबारे जानकारी गराएका थिए । निर्धारित समयभित्र संविधान जारी हुन नसक्नुको कारण मुलुकमा उत्पन्न राजनीतक गतिरोधको सहज निकासका लागि देशका प्रमुख तीन राजनीतिक दलहरूका बीचमा भइरहेको वार्ता तथा विकसित घटनाक्रमबारे समेत उपसभापति पौडेलले अवगत गराएका थिए । भेटघाटका अवसरहरूमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोड्डी पनि उपस्थित थिए ।
ब्लेकले मंगलबार प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सेनापति गौरवशमशेर राणालगायतसँग भेटवार्ता गर्नेछन् । ब्लेक उद्यमी-व्यवसायी समूह, तिब्बती समुदायका प्रतिनिधि, नागरिक समाज तथा मानव अधिकारकर्मीसग मंगलबारै भेटघाट पूरा गरेर अपराह्न वासिङटन र्फकने छन् ।
ekantipur
No comments:
Post a Comment