नेपाल डिभिजन ४ च्याम्पियन, क्रिकेटमा नेपालको ऐतिहासिक सफलता


मलेसिया, भाद्र २५ - नेपालले सोमबार क्रिकेटमा ऐतिहासिक सफलता चुमेको छ । विश्व क्रिकेट लिग डिभिजन –४ को फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भयो । कप्तान पारस खड्काले अफ साइडमा चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे । 
यहाँस्थित किन्रारा मैदानमा आएका नेपाली समर्थक उत्साहित भएका छन् । यो नेपाली क्रिकेटको अहिले सम्मकै ठूलो सफलता हो । नेपालले अन्तर्राष्टिय क्रिकेट खेलेको १६ वर्ष भएको छ । यस अघि नेपालले सबैभन्दा ठूला उपाधिका रुपमा दुई वर्ष अघि काठमाडौंमा डिभिजन ५ को उपाधि जितेको थियो । त्यस बेला पनि नेपालले अमेरिकालाई नै ५ विकेटले हराएको थियो । 
बसन्त रेग्मीले ५ विकेट लिएपछि फाइनलमा पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभर १ बलमा १ सय ४५ रनमा समेटियो । बसन्तले ९ ओभर १ बलमा २० रन खर्चेका थिए । उनी प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि भए । उनले २१ विकेट लिएका छन् । यस्तै, शक्ति गौचनले दुई विकेट लिए । संजम रेग्मी, पारस खड्का र विनोद दासको नाममा एक एक विकेट रह्यो । 
एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ज्ञानेन्द्र मल्लको आक्रामक अर्धसतकमा  २८ ओभरमा जित निकाल्यो । 
नेपालले २ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । ज्ञानेन्द्रले ६६ रन बनाए । उनले ३ छक्का र ७ चौका प्रहार गरे । उनले ६५ बलको सामना गरेका थिए । कप्तान पारस खड्काले नटआउट २५ र सुवाष खकुरेलले नटआउट ४० रन बनाए । अनिल मण्डलले ९ रन बनाए ।
प्रतियोगितमा अपराजित नेपाल र अमेरिका यस अघिनै डिभिजन–४ मा उक्लदै सन् २०१३ मा बर्मुडामा हुने डिभिजन–३ कालागि स्थान पक्का गरिसकेका छन् । 

No comments:

Post a Comment